तिथि परिवर्तनका कारण आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै

पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ।

बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ भने साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी घरघरमा दीप प्रज्वलन गरेर दीपावली मनाइँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले चतुर्दशी र औँसी तिथि एकै दिन परेकाले शास्त्रीय मान्यताअनुसार दुवै पर्व आइतबार नै मनाउने निर्णय गरेको हो।

हिन्दू धार्मिक परम्परामा कुकुरलाई यमराजको दूत तथा भगवान् भैरवको वाहनका रूपमा सम्मान गरिन्छ। कुकुरलाई वफादारी, सुरक्षा र धर्मको प्रतीकका रूपमा समेत लिइन्छ।

धार्मिक विश्वासअनुसार यमलोकको ढोकामा श्यामा र सबला नामका दुई कुकुरले पहरा दिने गर्छन्। मानिसको मृत्यु नजिकिँदा उनीहरूले यमराजलाई खबर गर्ने पौराणिक मान्यता छ। यही विश्वासका आधारमा कुकुरतिहारमा कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा परिकार खुवाएर पूजा गर्ने चलन छ।

महाभारतको कथामा पनि कुकुरको महत्वलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ जाँदा अन्तिमसम्म युधिष्ठिरसँग एउटा कुकुर मात्रै साथमा रहेको उल्लेख छ। स्वर्गको ढोकामा पुग्दा कुकुरलाई छाडेर मात्र प्रवेश गर्न सकिने भनिएपछि युधिष्ठिरले आफ्नो वफादार साथीलाई त्याग्न अस्वीकार गरेका थिए। पछि उक्त कुकुर धर्मराजकै स्वरूप भएको खुलासा भएको धार्मिक कथा प्रचलित छ।
यसैगरी, तिहारको महत्वपूर्ण पर्व लक्ष्मीपूजाका अवसरमा साँझ घर, आँगन र पसलहरू सफा गरी दीप, बत्ती तथा झिलिमिली प्रकाशले सजाउने गरिन्छ। धन, समृद्धि र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै घरमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।
पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण औँसीका दिन देवी महालक्ष्मी प्रकट हुनुभएको थियो। उहाँको स्वागतमा देवताहरूले दीप प्रज्वलन गरी पूजा आराधना गरेको विश्वासका आधारमा औँसीको रात दीपावली मनाउने परम्परा सुरु भएको मानिन्छ।
लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा विशेष सरसफाइ गरी दीप बाल्ने, पूजा गर्ने र समृद्धिको कामना गर्ने चलन छ। साँझदेखि रातिसम्म घरघरमा दीपावली गरिने भएकाले यस दिनलाई तिहारको सबैभन्दा उज्यालो पर्वका रूपमा पनि लिइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको तालिकाअनुसार कात्तिक २३ गते सोमबार गाईतिहार, कात्तिक २४ गते मंगलबार गोरुतिहार, गोवर्धन पूजा तथा म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।
तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ। समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।

Leave a Comment