काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तिहारको शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्।
यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्वबारे चर्चा गरेका हुन्।
उनले काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराले पुरानो समयमा सूचना र सन्देश आदानप्रदानसँग जोडिएको सांस्कृतिक विश्वासलाई समेत स्मरण गराउने उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले यमदीपदानको परम्परालाई पनि स्मरण गर्दै हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्र नभई न्यायको प्रतीकका रूपमा समेत चित्रण गरेको बताएका छन्। सत्कर्म गर्नेलाई संरक्षण र दुष्कर्म गर्नेलाई दण्ड दिने मान्यताले समाजमा न्याय र नैतिकताको महत्त्व दर्शाउने उनको भनाइ छ।
यसैगरी, धन्वन्तरी जयन्तीको अवसरमा उनले सबैलाई निरोगी र स्वस्थ जीवनको शुभकामना दिएका छन्। आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको सुस्वास्थ्यको कामना गरेका हुन्।
भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसको विश्वासिलो साथी कुकुरप्रति प्रेम र कृतज्ञता व्यक्त गर्ने यस पर्वले पशुपन्छीसँगको सहअस्तित्व र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले घरको सुरक्षादेखि अनुसन्धान तथा उद्धार कार्यसम्म कुकुरले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै पशुपन्छीप्रतिको आत्मीयता नेपाली चाडपर्वको सुन्दर पक्ष भएको बताएका छन्।
प्रधानमन्त्री शाहले तिहार तथा यमपञ्चकका पर्वहरूले सबैलाई सत्य, न्याय र इमानदारीको मार्गमा अघि बढ्दै समाजमा सुशासन कायम गर्न र जनताको हितमा काम गर्न प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन्।

