काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्त भएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनीलाई ३६ रनले पराजित गरेको छ। यस जितसँगै काठमाडौं अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो। सुरुवातमै धराशायी भएको लुम्बिनीले ४.३ ओभरमै ६ विकेट गुमाएको थियो। पावरप्ले समाप्त हुँदा लुम्बिनीले ३४ रन मात्रै बनाउन सकेको थियो।लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अविशेष गौतमले १६, निरोशन डिकवेल्लाले १४ र रुवेन ट्रम्पलम्यानले ११ रन जोडे। काठमाडौंका जहानदाद खानले चार विकेट लिए भने करण केसीले दुई विकेट हात पारे। साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान एक विकेट लिए।
यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो।
काठमाडौंका ओपनर डेविड वार्नर र शाहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए। शाहिलले ३६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाए। वार्नरले ४९ बलमा नौ चौका र एक छक्काको मद्दतले ६६ रन जोडे।
सहानले अविजित ३४ रन बनाए। कप्तान करण केसीले नौ रन बनाउँदा जहानदाद खानले छ र रासिद खानले दुई रन जोडे। विलियम बसिस्टो पहिलो बलमै आउट भए।
लुम्बिनीका लागि शेर मल्ल, अविशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान दुई विकेट लिए।
यस हारसँगै लुम्बिनीको जारी एनपीएलमा अपराजित यात्रा टुंगिएको छ। अघिल्लो सिजन सात खेलसम्म अपराजित रहेको लुम्बिनी यस सिजन १२औँ खेलमा आएर पराजित भएको हो। यो हारले दुई खेल अगावै प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावनालाई पनि पछाडि धकेलेको छ।
अर्कोतर्फ काठमाडौंले महत्वपूर्ण जित निकाल्दै अंकतालिकामा दोस्रो स्थान हासिल गरेको छ।

