कलैया । आध्यात्मिक ज्ञान, सकारात्मक सोच र नैतिक मूल्यको प्रवर्द्धन गर्दै आदर्श समाज निर्माण गर्ने उद्देश्यले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाले तीनदिने विशेष आध्यात्मिक एवं प्रेरणादायी शिविर आयोजना गर्ने भएको छ।
शिविरमा भारतको राजस्थानस्थित माउन्ट आबुबाट आउनुहुने रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीले विशेष प्रवचन दिनुहुने कार्यक्रम रहेको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाले केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने शिविरबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा केन्द्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी मिना दिदीले विद्यार्थी, शिक्षक, महिला, जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूलाई लक्षित गरी विभिन्न विषयमा उत्प्रेरणामूलक प्रवचन तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
कार्यक्रमअन्तर्गत मंसिर ४ गते शुक्रबार जिल्लाभरिका कक्षा १२ तथा क्याम्पस तहका विद्यार्थीलाई लक्षित गरी ‘लाइफ इज ब्यूटिफुल’ शीर्षकमा प्रेरणादायी कार्यक्रम आयोजना हुनेछ। सोही दिन शिक्षक तथा शिक्षिकाहरूका लागि ‘टिचर्सः लाइट हाउस फर ह्युम्यानिटी’ विषयमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी मंसिर ५ गते शनिबार महिलाहरूका लागि ‘समाज परिवर्तनको मूल आधार–नारी’ विषयमा विशेष कार्यक्रम आयोजना हुनेछ। सोही दिन जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूलाई लक्षित गरी ‘सफल जीवनको आधार–गीताको सार’ विषयमा दिव्य प्रवचन समारोह सञ्चालन गरिने आयोजकले जनाएको छ।
तीनदिने कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते आइतबार सम्मान समारोह तथा स्नेह मिलन कार्यक्रम आयोजना गरिनेछ।
शिविरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा. राजदादी माँ, सहनिर्देशक ब्रह्माकुमारी किरण दिदी, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामसिंह ऐर तथा मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीलगायतको समेत उपस्थिति रहनेछ।
कलैयास्थित ओम शान्ति टोलमा, राजदेवी मन्दिरदेखि पूर्व–उत्तर दिशामा कार्यक्रम सञ्चालन हुनेछ। सहभागीहरूको सवारीसाधन पार्किङका लागि श्री ३ चन्द्र माध्यमिक विद्यालय अगाडिको खाली स्थानमा व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
आध्यात्मिक ज्ञान, सकारात्मक सोच, नैतिक मूल्य र आत्मिक सशक्तीकरणमार्फत व्यक्ति, परिवार तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको शिविरमा सबै क्षेत्रका व्यक्तिहरूलाई सहभागी हुन मुख्य सञ्चालिका ब्रह्माकुमारी मिना दिदीले आग्रह गर्नुभएको छ।

