काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणका क्रममा करिब २५ घण्टा नयाँदिल्लीमा रहने भएका छन्।
निर्धारित कार्यतालिकाअनुसार उनी आगामी ६ मंसिरमा भारत प्रस्थान गरी भोलिपल्ट ७ मंसिरमा स्वदेश फर्किनेछन्।
भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि थाती रहेका द्विपक्षीय विषय तथा आर्थिक सहयोगका प्रस्तावमा छलफल हुने तयारी छ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह ६ मंसिरमा दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन्। नेपाली समयअनुसार उनी करिब दिउँसो ३ बजे दिल्ली पुग्नेछन्। त्यसैगरी, ७ मंसिरमा अपराह्न ४ः२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्रीको भ्रमणलाई अन्तिम रूप दिन पर्यटनमन्त्री गणेश पौडेल मंगलबार दिल्ली जाने तयारीमा छन्। यद्यपि भ्रमणको औपचारिक निर्णय र विस्तृत कार्यतालिका सार्वजनिक हुन बाँकी रहेकाले कार्यक्रममा केही फेरबदल हुन सक्ने सरकारी स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने चर्चा भए पनि अहिले करिब २५ घण्टामा सीमित हुने गरी तयारी गरिएको हो।
भ्रमणका क्रममा नेपालले भारतसँग अनुदान र सहुलियतपूर्ण ऋण गरी कुल २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग माग गरेको छ। प्रस्तावित सहयोगमध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १ खर्ब रुपैयाँ अनुदान रहनेछ।
अनुदानतर्फको ५० अर्ब रुपैयाँ रसुवामा बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा र बाँकी ५० अर्ब रुपैयाँ बुटवल–पोखरा द्रुतमार्ग निर्माणमा खर्च गर्ने नेपालको प्रस्ताव छ।
त्यसैगरी, नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने तथा नेपालका प्रमुख सहरलाई भारतका दोस्रो तहका सहरसँग सिधा हवाई सेवामार्फत जोड्ने विषयमा पनि छलफल हुने सम्भावना छ।
रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन र सीमापार पेट्रोलियम पाइपलाइन निर्माणका विषय पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डामा रहनेछन्।
महाकाली सन्धि भएको तीन दशक बितिसक्दा पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने विषयमा नेपालले जोड दिने तयारी गरेको छ। तर यसका लागि व्यापक राजनीतिक सहमति आवश्यक रहेको भारतको धारणा छ।
ऊर्जा तथा सिँचाइका विषय पनि नेपालले भारतसँग उठाउने तयारी गरेको छ। माथिल्लो तामाकोशीसहित चिनियाँ ठेकेदार संलग्न आयोजनाबाट उत्पादित विद्युत् भारतले आयात गर्नुपर्ने, बंगलादेशमा थप विद्युत् निर्यातका लागि सहजीकरण गर्नुपर्ने तथा महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि भारतले १० क्युमेक पानी उपलब्ध गराउनुपर्ने नेपालको माग छ।
प्रधानमन्त्री शाहसँग भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री गणेश पौडेललगायतका अधिकारी पनि भारत भ्रमणमा सहभागी हुनेछन्।
नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए। तर संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न उनी गत सेप्टेम्बरमा न्युयोर्क पुगेका थिए। महासभालाई सम्बोधन गरेलगत्तै स्वदेश फर्किएका शाहले भारत भ्रमण पनि छोटो समयमै सम्पन्न गर्ने गरी कार्यक्रम तय गरेको बताइएको छ।

