कलैया, असार २३ — जिल्ला प्रहरी कार्यालय बाराले सामाजिक सञ्जालमा यातायात व्यवस्था कार्यालय, बारासँग सम्बन्धित भनी प्रसारित भिडियोबारे स्पष्टिकरण दिँदै घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।
कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असार २२ गते प्रहार डेली नामक अनलाइन तथा सामाजिक सञ्जालमा यातायात व्यवस्था कार्यालय, बारा (कलैया) का कार्यालय प्रमुख चिन्तन आचार्य ले सेवाग्राहीमाथि दुर्व्यवहार गरेको भनिएको भिडियो सार्वजनिक भएको थियो।
विज्ञप्तिमा जनाइएअनुसार उक्त भिडियो सार्वजनिक भएपछि कार्यालय प्रमुख चिन्तन आचार्यलाई सोही दिन जिल्ला प्रहरी कार्यालय, बारामा बोलाई सोधपुछ तथा अनुसन्धान सुरु गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा दुर्व्यवहार भएको भनिएका व्यक्ति अरुण कुँशवाहा, कलैया उपमहानगरपालिका–३३ निवासी रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले अरुण कुँशवाहालाई २०८३ असार २२ गते नै घटनासम्बन्धी जाहेरी दर्ता गर्न जानकारी गराउँदै २०८३ असार २३ गते बिहान १०:०० बजे जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो। तर हालसम्म उनी जाहेरी दर्ता गर्न उपस्थित नभएको तथा चिन्तन आचार्यविरुद्ध कुनै पनि जाहेरी प्राप्त नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि कानुनी प्रक्रिया अगाडि बढाइने र घटनाको निष्पक्ष अनुसन्धान गरिने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तीमा सामाजिक सञ्जालमा आएका अपुष्ट सामग्रीका आधारमा भ्रममा नपर्न तथा पुष्टि नभएका सूचना नफैलाउन पनि सर्वसाधारणसँग आग्रह गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भिडियोबारे जिल्ला प्रहरी कार्यालय बाराको स्पष्टीकरण
Leave a Comment
Leave a Comment






