काठमाडौं, मंसिर ५। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
साविक विजेता लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने योजनासहित मैदानमा उत्रिँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। करिब एक महिनादेखि जारी प्रतियोगिताको अन्तिम भिडन्तले आज एनपीएलको नयाँ च्याम्पियन तय गर्नेछ।
लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पराजित भए पनि सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्तमा पुनरागमन गरेको थियो।
सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो।
अघिल्ला दुई संस्करणमा उपविजेतामै चित्त बुझाएको टोली यसपटक विगतको निराशा बिर्साउँदै पहिलो उपाधि उचाल्ने दाउमा छ। अर्कोतर्फ लुम्बिनी लगातार दोस्रोपटक उपाधि जितेर एनपीएलमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।
दुई टोलीबीचको आपसी प्रतिस्पर्धामा लुम्बिनी केही बलियो देखिएको छ। अहिलेसम्म भएका पाँच खेलमध्ये लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेल जितेका छन्।
फाइनलको विजेताले नगद १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ।
आजको फाइनलले लुम्बिनीको उपाधि रक्षा गर्ने सपना पूरा हुन्छ कि सुदूरपश्चिमले तेस्रो प्रयासमा ऐतिहासिक सफलता हात पार्छ भन्ने निर्णय गर्नेछ।

