काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज आइतबार भारत प्रस्थान गर्दै छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शाह नयाँदिल्ली जान लागेका हुन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्। नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्य पनि टोलीमा थपिनेछन्।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। नयाँदिल्लीस्थित ताजमहल होटलमा भेटघाटको कार्यक्रम तय गरिएको छ।
सोमबार मोदीसँग महत्त्वपूर्ण भेटवार्ता
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहको व्यस्त कार्यक्रम रहेको छ। बिहान १० बजे राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन्। दुई देशका प्रधानमन्त्रीबीच हुने उक्त भेटवार्तालाई भ्रमणको मुख्य कार्यक्रमका रूपमा हेरिएको छ।
भेटवार्तापछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी सोमबार दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन्।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे प्रतिनिधिमण्डलसहित भारतबाट स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको यस भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहयोग विस्तार गर्ने तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

