काठमाडौं, मंसिर ५। नागढुंगा–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
चितवनको घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सम्भावित दुर्घटना रोक्न प्रशासनले सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम सुरु गर्न लागेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि अर्को आदेश नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ।
प्रशासनका अनुसार घोप्टेभीर क्षेत्रमा पटक–पटक सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भइसकेको छ। थप दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गरेर पहिरो प्रभावित क्षेत्रमा रहेका जोखिमयुक्त ढुंगा र माटो हटाउने निर्णय गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा तोकिएको समयभित्र सडकमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य सञ्चालन गरिने उल्लेख छ।
सडक बन्द रहने समयमा यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आफ्नो यात्राको समय मिलाएर मात्र आवतजावत गर्न प्रशासनले आग्रह गरेको छ।
नागढुंगा–मुग्लिन सडक राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग भएकाले दैनिक पाँच घण्टा हुने बन्दले लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ।

