खरिदारदेखि सशस्त्र प्रहरी प्रमुखसम्म: नारायणदत्त पौडेलको यात्रा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, वैशाख १४ — मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। हाल अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेलले आगामी वैशाख १८ गतेदेखि संगठनको नेतृत्व सम्हाल्नेछन्।
चार वर्षे कार्यकाल पूरा गरेर वर्तमान आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि सरकारले वरिष्ठताका आधारमा पौडेललाई नेतृत्वको जिम्मेवारी दिएको हो। उनीसँगै प्रतिस्पर्धामा रहेका एआईजी वंशी दाहाल र गणेश ठाडा मगरभन्दा पौडेल अग्रस्थानमा थिए।
साधारण सुरुवात, असाधारण उचाइ
सुर्खेतमा जन्मिएका पौडेलको करिअर यात्रा निकै प्रेरणादायी मानिन्छ। उनले प्रारम्भमा लोकसेवा आयोगमार्फत खरिदार पदमा नाम निकालेर वीरेन्द्रनगर नगरपालिकामा करिब पाँच वर्ष काम गरेका थिए। त्यसपछि अप्रत्याशित रूपमा प्रहरी सेवातर्फ मोडिएका उनी पहिलो प्रयासमै निरीक्षक पदमा नाम निकाल्न सफल भए।
२०५४ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका पौडेलले सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिने रोल्पा क्षेत्रमा स्ट्राइकिङ टोलीको कमान्ड सम्हाल्दै काम गरे। माओवादी द्वन्द्वकालमा देखाएको साहस, नेतृत्व क्षमता र कार्यकुशलताका कारण उनले विशेष मूल्यांकन पाउँदै अतिरिक्त ग्रेडसमेत प्राप्त गरेका थिए।
द्वन्द्वदेखि शान्ति प्रक्रियासम्मको अनुभव
नेपाल प्रहरीमा केही वर्ष सेवा दिएपछि २०५८ सालमा सशस्त्र प्रहरी बल गठन हुँदा उनी त्यहाँ स्थानान्तरण भए। डीएसपीदेखि एआईजीसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै उनले सीमा सुरक्षा, मानव स्रोत, कार्य विभागलगायत महत्वपूर्ण निकायको नेतृत्व गरे।
शान्ति प्रक्रियाको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन (UNMIN) अन्तर्गत हतियार अनुगमनमा संलग्न भई उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाको अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरे। साथै, लाइबेरिया र कोसोभोमा यूएन शान्ति मिसनमा काम गर्दै विश्वस्तरको अनुभव बटुले।
नेतृत्वमा व्यापक अनुभव
पौडेलले जिल्ला प्रहरी कार्यालयदेखि सशस्त्र प्रहरीका बाहिनी तथा विभागीय नेतृत्वसम्म विभिन्न तहमा काम गरेका छन्। प्रशासन, अपरेसन, तालिम तथा नीतिगत तहमा उनको लामो अनुभव छ।
करीब २८ वर्षे सेवाकालमा उनले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री, गोरखा दक्षिण बाहुलगायतका विभिन्न पदक प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय तथा स्वदेशी तालिमले उनको पेशागत दक्षता थप सुदृढ बनाएको मानिन्छ।
अबको जिम्मेवारी
नयाँ आईजीपीका रूपमा पौडेलले आगामी दुई वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन्। विद्यमान नियमअनुसार ३० वर्षे सेवा अवधिका कारण उनी २०८४ चैतमा अवकाशमा जानेछन्।
खरिदारबाट सुरु भएको उनको यात्रा सशस्त्र प्रहरीको सर्वोच्च पदसम्म पुग्नु नेपाली सुरक्षा निकायभित्र एक प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

 

Leave a Comment