काठमाडौं, २८ मंसिर — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरीलाई बारम्बार निशानामा पारिने गरेको गुनासो गरेका छन्। आवश्यक पर्दा प्रयोग गर्ने र परिस्थिति फेरिँदा दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरे।
जेनजी आन्दोलनका बेला आगजनीबाट क्षति पुगेको बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले पछिल्ला वर्षहरूमा भएका आन्दोलनले प्रहरी संरचनामा ठूलो क्षति पुर्याएको बताए। यस वर्ष पनि अघिल्ला आन्दोलनझैं प्रहरी कार्यालय र संरचनाहरू लक्ष्य बन्न पुगेको उनको भनाइ थियो।
उनले नेपालको इतिहासमा भएका अधिकांश राजनीतिक तथा सामाजिक आन्दोलनमा प्रहरी नै पहिलो तारो बन्ने गरेको उल्लेख गर्दै यस्ता घटनाले सुरक्षाप्रति नकारात्मक धारणा फैलिने खतरा रहेको बताए।
आईजीपी कार्कीले शान्ति सुव्यवस्था कायम राख्न प्रहरी मात्र होइन, नागरिकको पनि उत्तिकै भूमिका रहने भन्दै नागरिक–प्रहरी सहकार्यलाई बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिए। उनले सबै तहका प्रहरी कर्मचारीलाई नागरिकसँग नजिक रहेर समन्वयात्मक ढंगले काम गर्न निर्देशनसमेत दिए।

