पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व मन्त्री फरमुल्ला मन्सुरदेखि वरिष्ठ पत्रकार भोजराज भट्टराईसम्म बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, ३ पुस ।
बाराको सदरमुकाम क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि यसपटक १० जनाको नाम सिफारिस गरिएको छ । सिफारिस सूचीमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व मन्त्री तथा कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरदेखि वरिष्ठ पत्रकार भोजराज भट्टराईसम्मका नाम समावेश छन् ।

नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को कलैयामा सम्पन्न क्षेत्रीय भेलाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो । भेलाले फरमुल्ला मन्सुरलाई प्रमुख उम्मेदवारका रूपमा अघि सारेको छ ।

क्षेत्रीय समितिका अनुसार सिफारिस सूचीमा फरमुल्ला मन्सुर, कांग्रेस बारा उपसभापति मनोज भट्ट, प्रवेज अन्सारी, वरिष्ठ पत्रकार भोजराज भट्टराई, बजरंगी साह, जगबहादुर चौरसिया, प्रकाश रिमाल, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रबिकिरण साह र अम्बिका ठाकुर रहेका छन् ।

उम्मेदवार सिफारिससँगै वरिष्ठ पत्रकार भोजराज भट्टराई चुनावी अभियानमा सक्रिय देखिनुभएको छ । लामो समयदेखि पत्रकारितामा क्रियाशील रहँदै जनतामाझ लोकप्रिय बनेका भट्टराई जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानाका स्थायी बासिन्दा तथा नेपाली कांग्रेसका अनुभवी नेता हुनुहुन्छ ।

सिफारिसपछि भट्टराई झोला र डायरी बोकेर गाउँ–गाउँ पुग्दै जनताको समस्या, गुनासा र अपेक्षा बुझ्न व्यस्त देखिनुहुन्छ । गलामा गम्छा भिरेर घरदैलो अभियानमा जुट्नुभएको भट्टराईलाई क्षेत्रीय समितिले प्रतिनिधिसभा उम्मेदवारका रूपमा चौथो नम्बरमा सिफारिस गरेको जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनको अन्तिम निर्णय भने नेपाली कांग्रेसको केन्द्रीय समितिबाट हुने बताइएको छ ।

Leave a Comment