५ मंसिर,काठमाडौँ । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधि आज तय हुँदैछ । शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालको एपीएफ फुटबल क्लब र भारतको इष्ट बंगालबीच उपाधिका लागि अन्तिम भिडन्त हुन लागेको हो । खेल साँझ ६ बजे सुरु हुनेछ ।
समूह चरणमा एपीएफले दुई जित र दुई बराबरीको नतिजासहित फाइनल यात्रा तय गरेको थियो । इष्ट बंगालले भने तीन खेल जित्दै बलियो प्रदर्शन गरेको थियो भने एपीएफसँग एक खेल बराबरी खेलेको थियो ।
गोल गर्ने अवसर सिर्जना भए पनि फिनिसिङमा कमजोर देखिएको एपीएफ र आक्रामक खेलशैलीका लागि चिनिएको इष्ट बंगालबीचको फाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । घरेलु मैदान र दर्शकको समर्थन एपीएफका लागि ऊर्जा भए पनि उपाधि जित्न कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलोपटक आयोजना गरेको यस प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र पाकिस्तानका लिग विजेता गरी पाँच देशका क्लबहरूको सहभागिता रहेको छ ।
एपीएफकी कप्तान अनिता बस्नेतले टोली फाइनलका लागि पूर्ण रूपमा तयार र उत्साहित रहेको बताएकी छन् । उता, इष्ट बंगालका प्रशिक्षक तथा कप्तानले पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने प्रतिक्रिया दिएका छन् ।
प्रतियोगिताको विजेता टोलीले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले ५ हजार अमेरिकी डलर पाउनेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

