९ पुस कलैया, बारा । सञ्चारमाध्यमलाई प्रभावकारी र सशक्त बनाउन केन्द्रमा सीमित रहेका स्रोत र सुविधाहरू अब प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले बताएका छन्।
मिडिया काउन्सिल मधेश प्रदेशद्वारा बाराको कलैयामा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक एकदिने गोष्ठीको उद्घाटन गर्दै उनले संघीय संरचनाअनुसार सञ्चार क्षेत्रका अधिकार, स्रोत र सुविधा प्रदेश तथा स्थानीय तहसम्म विस्तार हुन जरुरी रहेको बताए।
पूर्व मुख्यमन्त्री सोनलले पत्रकारहरूको क्षमता अभिवृद्धि, सुरक्षाको प्रत्याभूति, तालिम तथा आधुनिक प्रविधिमा पहुँच सुनिश्चित गर्न राज्यले ठोस नीति लिनुपर्नेमा जोड दिए। उनले स्वतन्त्र, उत्तरदायी र सशक्त पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हकहित संरक्षण तथा आर्थिक–संरचनागत सशक्तिकरणमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
उनले संविधानलाई सही मार्गमा अघि बढाउन तोकिएको समयमै प्रतिनिधि सभा सदस्यको निर्वाचन गरिनुपर्ने बताए। निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा चुनाव सम्पन्न गराउने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सोनलले निर्वाचन सम्बन्धी सूचना सम्प्रेषणमा सञ्चारमाध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए।
मधेश प्रदेशमा सञ्चालित छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमले भोग्दै आएका समस्या र सुधारका सम्भावनाबारे गोष्ठीमा उठेका विषयलाई सम्बोधन गर्न आफूले पूर्ण पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
गोष्ठीमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जाराले सञ्चारमाध्यमको वर्तमान अवस्था र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासले धन्यवाद ज्ञापन गरेका थिए भने पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र बाराका सचिव पुष्पराज खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए।
गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले गरेका थिए। कार्यक्रममा बारा र पर्साका विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

