बारामा प्रहरीको दोहोरो कारबाही : ८ कठ्ठामा लगाइएको अवैध गाँजा खेती नष्ट, १० केजी गाँजासहित दुई जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१६ पुस,बारा — जिल्ला बारामा लागू औषध नियन्त्रणका लागि प्रहरीले एकै दिन फरक–फरक स्थानमा कारबाही गरेको छ। यस क्रममा अवैध रूपमा लगाइएको गाँजा खेती फँडानी गरिएको छ भने गाँजा ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरी कारबाहीको सिलसिलामा मिति बुधबार बिहान करिब ९ः४५ बजे इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट प्र.ना.नि. आस महमद अंसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका–१२ स्थित कुलिया टोल क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा खेती फँडानी गरेको हो। करिब ८ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त खेतमा रहेका अनुमानित ११ देखि १२ सय वटा गाँजाका बोटहरू फँडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, विशेष सूचनाको आधारमा ।मगलबार राति करिब ८ः१५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा प्रहरी चौकी अमृतगञ्ज खजानीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका–३ स्थित ब्रह्मस्थान क्षेत्रमा गाँजा ओसारपसार गर्दै गरेका दुई जनालाई पक्राउ गरेको छ। गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल जाँच गर्दा १० केजी गाँजा (दुई पोका) फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर निवासी अन्दाजी ३३ वर्षका राजकुमार कुशवाहा र सोही स्थानका अन्दाजी २८ वर्षका पुनदेव पटेल रहेका छन्। उनीहरूलाई लागू औषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागू औषधको खेती, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइनेछ।

Leave a Comment