काठमाडौं, असार ४ — राहदानी छपाइ ठेक्का प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएपछि विदेशमा रहेका देउवा दम्पती थप कानुनी दबाबमा परेका छन्।
अख्तियारले राहदानी छपाइ प्रक्रियामा अनियमितता भएको आरोपबारे बयान लिन आवश्यक रहेको भन्दै आरजुको नाममा सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
हाल उपचारका लागि विदेशमा रहेकी आरजुले भने इमेलमार्फत अख्तियारलाई जवाफ पठाउँदै निर्धारित अवधिमा नेपाल फर्किन नसक्ने तर अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको जानकारी दिएकी छन्।
यसैबीच राहदानी ठेक्का प्रकरणमा राहदानी विभागका उच्च अधिकारीसहित सम्बन्धित व्यक्तिमाथि अनुसन्धान जारी रहेको छ। अख्तियारले विभागका महानिर्देशक, निर्देशक तथा ठेक्का प्रक्रियासँग जोडिएका अन्य व्यक्तिसँग बयान लिइरहेको जनाएको छ।
राहदानी छपाइ सम्झौता भएको समयमा आरजु राणा परराष्ट्रमन्त्री रहेकाले उनको भूमिकामाथि समेत अनुसन्धान केन्द्रित भएको छ। ठेक्का प्रक्रियामा मिलेमतो र आर्थिक अनियमितता भएको आरोपबारे अख्तियारले तथ्य संकलन गरिरहेको छ।
उता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी छ। देउवा दम्पतीले अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाए पनि हालसम्म विदेशबाटै कानुनी प्रतिवाद गरिरहेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई पठाइएको पत्रमा उनीहरूले आफूहरू उपचारकै क्रममा रहेको र केही समयभित्र नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै अनुसन्धानलाई लिएर आफूहरू फरार भएको वा कानुनी प्रक्रियाबाट भाग्न खोजेको भन्ने सन्देश नदिन आग्रह समेत गरेका छन्।
यसअघि देउवा दम्पतीविरुद्ध जारी पक्राउ पुर्जी सर्वोच्च अदालतले खारेज गरिसकेको छ भने इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रयास पनि सफल हुन सकेको छैन। यस्तो अवस्थामा अख्तियार र सम्बन्धित निकायहरूले अब के रणनीति अपनाउँछन् भन्ने चासो बढेको छ।
आरजु राणामाथि अख्तियारको तीन दिने अल्टिमेटम, विदेशमै रहेका देउवा दम्पती थप दबाबमा
Leave a Comment
Leave a Comment






