२० पुस,कलैया-बारा जिल्लाको कलैया उपमहानगरपालिकामा भएको चक्कु प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–५ बरेवा टोल निवासी इमताज अन्सारीलाई नियन्त्रणमा लिइएको हो। कलैया–४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा रबिन कुमार सहनीमाथि शनिबार साँझ भएको आक्रमणसँग अन्सारीको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितका बुवाले दिएको जाहेरीका आधारमा अन्सारीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजी कार्य जारी छ।
शनिबार साँझ आफ्नै घर अगाडि रहेका बेला अज्ञात समूहले सहनीमाथि शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी आक्रमण गरेको थियो। आक्रमणपछि उनीहरू प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका सहनीको हाल नेशनल मेडिकल कलेज, वीरगञ्जमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको परिवारजनले बताएका छन्।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने दोषीलाई कडा कारबाही गर्न माग उठ्न थालेको छ। प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

