अमेरिकाको कडा चेतावनीः डेल्सी रोड्रिगेज नमाने ‘मादुरोभन्दा खराब अवस्था’ हुने ट्रम्पको धम्की

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २१ पुस।
भेनेजुएलाको राजनीतिक संकट चर्किँदै गएको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन्। अमेरिकाको अपेक्षाअनुसार काम नगरे रोड्रिगेजको अवस्था अपदस्थ राष्ट्रपति निकोलस मादुरोभन्दा पनि खराब हुन सक्ने ट्रम्पले बताएका छन्।

‘द एटलान्टिक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेका कदम चालिनन् भने परिणाम निकै गम्भीर हुन सक्छ।”

भेनेजुएलाको सर्वोच्च अदालतले रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिएको पृष्ठभूमिमा ट्रम्पको चेतावनी आएको हो। ट्रम्पका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि नै रोड्रिगेजसँग संवाद गरिसकेका छन् र उनले भेनेजुएलाका नागरिकको जीवनस्तर सुधार्ने विषयमा अमेरिकासँग सहकार्य गर्न तत्परता देखाएकी छन्।

ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ सँगको अर्को अन्तर्वार्तामा रोड्रिगेजले अमेरिकी प्रस्ताव स्वीकारे अमेरिकी सेना परिचालन गर्नु नपर्ने स्पष्ट पारे। उनले भने, “हामी शान्तिपूर्ण समाधान चाहन्छौँ, तर विकल्प खुला छन्।”

यसैबीच, ट्रम्पले भेनेजुएलाको व्यवस्थापन र संक्रमणकालीन अवस्थालाई सम्हाल्न विशेष अमेरिकी टोली गठन गरिएको जानकारी दिएका छन्। टोलीमा विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथसहित उच्च तहका अधिकारीहरू रहनेछन्। उक्त टोलीले शान्ति–सुरक्षा, सरकारी संरचना पुनःस्थापना, तथा तेल, ऊर्जा र सुरक्षा क्षेत्र स्थिर बनाउन काम गर्ने बताइएको छ।

उता, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी कदमको कडा विरोध गरेकी छन्। उनले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरूलाई पक्राउ गर्नु ‘अपहरण’ सरह भएको बताइन्। राष्ट्रिय रक्षा परिषद्को बैठकमा उनले मादुरो नै भेनेजुएलाको वैध राष्ट्रपति भएको दाबी दोहोर्‍याइन्।

उल्लेखनीय छ, अमेरिकी सेनाले ३ जनवरीको राति भेनेजुएलामा कारबाही गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई हाल न्यूयोर्कमा हिरासतमा राखिएको छ र हतियार तथा लागुऔषध तस्करीसम्बन्धी मुद्दामा आज अमेरिकी अदालतमा पेश गर्ने तयारी भइरहेको बताइएको छ।

Leave a Comment