विपद्का घटनामा २१ जनाको मृत्यु, पाँच जना अझै बेपत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, असोज ११-असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान, चट्याङ, हावाहुरी तथा अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा मानवीय क्षति भएको हो। विपद्मा घाइते भएका पाँच जनाको निःशुल्क उपचारको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।
सरकारको विवरणअनुसार बाढी, पहिरो, डुबान र चट्याङसँग सम्बन्धित ४३९ वटा मनसुनजन्य घटना भएका छन्। विपद्का कारण ग्रामीण क्षेत्रसँगै सहरी बस्तीसमेत प्रभावित भएका छन्। सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीजस्ता अत्यावश्यक पूर्वाधारमा क्षति पुगेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी, बाढीमा फसेका मानिस तथा पशुचौपायाको उद्धार र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काममा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्थासमेत मिलाइएको जनाइएको छ।
विपद्का कारण यातायात र ऊर्जा क्षेत्रमा पनि ठूलो असर परेको छ। नारायणी नदीमा पानीको बहाव बढेपछि क्रुजसिप बगेर पुलमा अड्किएको तथा सुरक्षाका लागि पूर्व–पश्चिम राजमार्गको आवागमन रोकिएको प्रधानमन्त्रीले बताएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्गलगायत काठमाडौँ उपत्यका जोड्ने तथा विभिन्न जिल्लाका सडकहरू पहिरो, कटान र भासिने समस्याबाट प्रभावित भएका छन्।
भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको जानकारी दिँदै प्रधानमन्त्री शाहले क्षतिग्रस्त सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउने कामलाई प्राथमिकता दिइएको बताएका छन्।
बाढी तथा पहिरोका कारण राष्ट्रिय प्रसारण प्रणालीमा समेत असर परेको छ। कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरतर्फबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको जनाइएको छ। प्रसारण लाइनका टावरमा क्षति पुग्दा ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने जोखिम न्यूनीकरणका लागि थप ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजना सुरक्षात्मक रूपमा बन्द गरिएको प्रधानमन्त्रीले बताएका छन्।
ठूला नदीमा पानीको सतह बढेपछि विभिन्न स्थानमा आवागमनसमेत प्रभावित भएको छ। महाकाली नदीको जलस्तर बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवतजावतमा रोक लगाइएको छ। सेती, नारायणी र कमला नदी आसपासका क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ भने कुलेखानी क्षेत्रमा समेत यातायात प्रभावित भएको जनाइएको छ।
अविरल वर्षा र हावाहुरीले किसानका धान, तरकारीलगायत बालीमा क्षति पुगेको प्रधानमन्त्री शाहले बताएका छन्।
जोखिम अझै कायम रहेको भन्दै उनले नदी किनार र पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक यात्रा नगर्न र आपत्कालीन अवस्था आए निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।
विपद्का बेला गलत सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्ने गतिविधिमाथि निगरानी भइरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। संकटको समयमा पीडितलाई थप समस्या पार्ने गतिविधि नगर्न उनले सम्बन्धित सबैलाई आग्रह गरेका छन्।

Leave a Comment