काठमाडौं, असोज १२-अर्थमन्त्री तथा एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले एआईआईबीकी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गरेका छन्। कतारको राजधानी दोहामा भएको भेटमा नेपालमा बैंकको लगानी विस्तार, विपद्पछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनबारे छलफल भएको छ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका मन्त्री वाग्लेले नेपालमा प्राकृतिक विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा दीर्घकालीन पूर्वाधार विकासमा बैंकको सहयोग थप विस्तार गर्न अध्यक्ष जोउसँग आग्रह गरेका हुन्।
भोटेकोसी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति अध्यक्ष जोउले दुःख व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणलाई थप उत्थानशील बनाउन बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
उनले एआईआईबीको परियोजना तयारीसम्बन्धी विशेष कोषमार्फत नेपालका पूर्वाधार परियोजनालाई तयारी चरणमै अनुदान सहयोग उपलब्ध गराउन सकिने बताइन्। साथै विशेष कोषअन्तर्गतको अनुदान प्रयोग गरेर नेपाललाई उपलब्ध गराइने ऋणलाई सम्भव भएसम्म सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा उनले राखिन्।
अध्यक्ष जोउले एआईआईबीको संस्थापक सदस्यका रूपमा रहेको नेपालसँग बैंकले आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीको नेतृत्व सम्हालेकी जोउलाई बधाई दिँदै नेपाललाई बैंकले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए। उनले बैंकको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययनलाई शीघ्र अघि बढाउन आग्रह गरे।
बाढीका कारण एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पुगेको क्षतिप्रति पनि मन्त्री वाग्लेले दुःख व्यक्त गरेका थिए।
वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासमा एआईआईबीको स्रोत परिचालन गर्न आग्रह गरे। उनले बैंकको आफ्नै स्रोतसँगै अन्य विकास साझेदारबाट उपलब्ध हुने वित्तीय स्रोतलाई समेत नेपालका प्राथमिकताका परियोजनामा परिचालन गर्न आग्रह गरेका हुन्।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमण गर्न औपचारिक निम्तोसमेत दिएका छन्।

