२१ पुस, काठमाडौं । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, कूटनीतिक र नीतिगत क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण आठ निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
सरकारले राष्ट्रिय अनुसन्धान विभागमा उच्च तहको पदपूर्ति गर्दै अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गर्ने निर्णय गरेको छ। यस्तै, नेपाल लेखा परीक्षण सेवातर्फ घनश्याम पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा पदोन्नति गरिएको छ।
बैठकले अन्तर्राष्ट्रिय श्रम र कूटनीतिक सम्बन्ध विस्तार गर्ने निर्णय पनि गरेको छ। नेपाल सरकार र ओमान सरकारबीच समझदारीपत्र तथा नेपाल–इजरायलबीच श्रम सम्झौता स्वीकृत गरिएको छ।
त्यसैगरी, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य हेर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
सरकारले सामाजिक पक्षलाई समेत प्राथमिकता दिँदै जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’लाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
ऊर्जा र वातावरणसँग सम्बन्धित नीतिगत निर्णयअन्तर्गत पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गरिएको छ। साथै, वन क्षेत्र व्यवस्थापनसँग सम्बन्धित वन तेस्रो संशोधन नियमावली २०८२ पनि स्वीकृत गरिएको छ।
सरकारका अनुसार यी निर्णयहरूले प्रशासनिक सुधार, अन्तर्राष्ट्रिय सहकार्य, सामाजिक संरक्षण र वातावरणमैत्री नीतिलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।





