भक्तपुर, चैत १८ — यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भोलि चैत १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षाको सबै तयारी पूरा भइसकेको छ। उनले सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग बैठक सम्पन्न भइसकेको र परीक्षा सहज तथा शान्तिपूर्ण रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे। उनले विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह पनि गरेका छन्।
यसवर्ष चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिनेछन्। परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी हुनेछन्। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०७ जना छात्र र अन्य ७ जना रहेका छन्।
प्रदेशगत रूपमा कोशी प्रदेशबाट ८२ हजार ४८७, मधेस प्रदेशबाट ९० हजार २४३, बागमती प्रदेशबाट १ लाख ९ हजार ५१३, गण्डकी प्रदेशबाट ४३ हजार ९७२, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय तथा २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुनेछ।
यसवर्ष बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्रमा अनावश्यक भीडभाडका कारण विद्यार्थीको लेखन कार्य प्रभावित भएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अब परीक्षा हलमा केन्द्राध्यक्ष र खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न पाउनेछन् भने सञ्चारकर्मीले बाहिरी दृश्य मात्र खिच्न पाउनेछन्।
प्रत्येक परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिनेछ। साथै विशेष आवश्यकता भएका तथा अपाङ्गता भएका विद्यार्थीका लागि अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ। तीन घण्टाको परीक्षामा आवश्यकताअनुसार थप एक घण्टा ३० मिनेट समय दिइनेछ।
यसवर्ष एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। यसअघि ४५ दिन लाग्ने गरेकोमा यसपटक छिटो नतिजा प्रकाशन गर्ने लक्ष्य बोर्डले लिएको छ।

