२१ पुस,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्ना तथा परिचालनसम्बन्धी मापदण्ड स्वीकृत गरेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा १ लाख ४९ हजार ९० जना म्यादी प्रहरी भर्ना गर्ने भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना म्यादी प्रहरी भर्ना गर्नेछ। भर्ना प्रक्रिया भने एकैपटक (एकमुष्ट) सञ्चालन गरिनेछ।
म्यादी प्रहरी छनोटका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट समिति गठन गरिनेछ। समितिमा सहायक प्रमुख जिल्ला अधिकारी सदस्य–सचिव रहनेछन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले दुवै प्रहरीका जिल्ला कार्यालयमार्फत निवेदन दिन सक्नेछन्। छनोटपछि मात्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ–आफ्नो कोटाअनुसार म्यादी प्रहरी परिचालन गर्नेछन्। तालिम भने दुवै निकायले छुट्टाछुट्टै प्रदान गर्नेछन्।
स्वीकृत मापदण्डअनुसार छनोट भएका म्यादी प्रहरीलाई १० दिनको तालिम दिइनेछ र करिब एक महिना निर्वाचन सुरक्षामा खटाइनेछ। उनीहरूको सेवासुविधा नियमित प्रहरी जवानसरह हुनेछ। बिमा, पोसाक तथा राशन भत्ताको समेत व्यवस्था गरिएको छ।
निर्वाचन प्रहरी भर्नामा पूर्व सुरक्षाकर्मी तथा अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेकालाई प्राथमिकता दिइने जनाइएको छ। अधिकांश मापदण्ड यसअघिका निर्वाचनसँग मिल्दोजुल्दो रहेको गृह मन्त्रालयले जनाएको छ।
२०७९ सालको निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो। तर यसपटक मतदानस्थल संख्या बढेकाले म्यादी प्रहरीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि गरिएको हो। निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा देशभर १० हजार ९ सय ६७ मतदानस्थल रहनेछन्, जुन अघिल्लो निर्वाचनभन्दा १६८ ले बढी हो।
तीमध्ये करिब ३ हजार ५ सय मतदानस्थललाई सुरक्षा दृष्टिले अति संवेदनशील मानिएको छ। संवेदनशीलता बढेकै कारण थप ३५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको जनाइएको छ।
यस निर्वाचनमा पहिलो पटक सशस्त्र प्रहरीले पनि म्यादी प्रहरी भर्ना गर्ने भएको छ। स्ट्राइकिङ फोर्स र मोबाइल गस्ती टोलीमा समेत म्यादी प्रहरी समावेश गरिनेछ। यसअघि ७ जनाको मोबाइल गस्ती टोली रहने गरेकोमा यसपटक १२ जनाको टोली खटाइने व्यवस्था गरिएको छ।






