पार्किङ तथा बजार व्यवस्थापन सुधारको माग गर्दै जेन्जी एन्ड युथ बाराद्वारा ८ बुँदे ज्ञापनपत्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया, असार २ — कलैया बजार क्षेत्रको पार्किङ तथा बजार व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै जेन्जी एन्ड युथ बाराले सम्बन्धित निकायलाई ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।
जेन्जी एन्ड युथ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा युवाहरूको टोलीले कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा अव्यवस्थित पार्किङ, सडक अतिक्रमण, बजार क्षेत्रको अस्तव्यस्त अवस्था तथा सार्वजनिक स्थानको उचित व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको उल्लेख गरिएको छ। समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने माग युवाहरूले गरेका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष पाण्डेयले कलैया उपमहानगरपालिका भए पनि सहरको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताए। उनले सहरलाई सफा, व्यवस्थित र सुन्दर बनाउने जिम्मेवारी सरकारी निकायको मात्र नभई सम्पूर्ण नगरवासीको साझा दायित्व भएको उल्लेख गरे।
उनले पार्किङ तथा बजार व्यवस्थापनको काम अगाडि बढ्ने क्रममा कसैले पनि अनावश्यक दबाब, पहुँच वा शक्तिको प्रयोग नगर्न आग्रह गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
युवाहरूले बजारका व्यवसायी, स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सम्पूर्ण नगरवासीबाट सकारात्मक साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ज्ञापनपत्रमा उल्लेखित मागहरू कार्यान्वयन भएमा कलैयाको बजार तथा पार्किङ व्यवस्थापनमा सुधार आउनुका साथै सहर थप व्यवस्थित, सुरक्षित र आकर्षक बन्ने अपेक्षा गरिएको छ।

Leave a Comment