वीरगञ्जमा शान्ति सहमति : प्रदर्शन रोक्ने निर्णय, सद्भाव संयन्त्र गठनपछि कर्फ्यू हटाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

वीरगञ्ज, पुस २२ — पछिल्ला दिनहरूमा बढेको तनाव र विरोध प्रदर्शनपछि वीरगञ्जमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले अब कुनै पनि किसिमका प्रदर्शन नगर्ने सहमति गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको बैठकले शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बैठकले अन्य मुलुक वा स्थानमा भएका घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन तथा प्रदर्शन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, भविष्यमा कुनै पनि आन्दोलन वा कार्यक्रम गर्नुपर्ने भए अग्रिम रूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने र प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएपछि मात्र कार्यक्रम अघि बढाउनुपर्ने निर्णय गरिएको छ।

बैठकको निर्णयसँगै वीरगञ्जमा जारी कर्फ्यू आदेश हटाइएको छ। प्रशासनले शान्ति अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यू हटाइएको जनाएको छ।

यस्तै, धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्न नदिन र सम्भावित विवादलाई समयमै समाधान गर्न जिल्ला सद्भाव संयन्त्र गठन गर्ने निर्णय गरिएको छ। संयन्त्रले सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि प्रशासनलाई सिफारिस गर्ने अधिकार पाउनेछ।

सद्भाव संयन्त्रमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी रहनेछन्। संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने तय भएको छ। आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधिलाई पनि समेटिने प्रशासनले जनाएको छ।

प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र शान्ति तथा सद्भाव कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

Leave a Comment