महिला टी–२० विश्वकप छनोटको तयारीमा नेपाल, आज अमेरिकासँग अभ्यास खेल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस २३ । नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीलाई तीव्र बनाएको छ । खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा नेपालमै हुन लागेको महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्वेसँग प्रि–सिरिज खेल्न लागेको हो । यस क्रममा नेपालले पुस २५ गते स्कटल्यान्ड र पुस २७ गते जिम्बाब्वेसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ ।

आगामी सातादेखि सुरु हुने ग्लोबल छनोट प्रतियोगितामा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । यी तीनै देशका सिनियर महिला टोलीले पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन् ।

हाल विश्वमा १२ देशलाई मात्र टेस्ट क्रिकेट राष्ट्रको मान्यता प्राप्त छ । तीमध्ये अफगानिस्तानबाहेक सबै टेस्ट राष्ट्रसँग महिला राष्ट्रिय टोली छ । बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेका महिला टोलीहरू सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्यसहित ग्लोबल छनोट खेल्न नेपाल आएका हुन् ।

नेपाल र जिम्बाब्वेबीच माघ १० गते हुने खेल विशेष रूपमा ऐतिहासिक रहनेछ । यो खेल नेपाली महिला टोलीले कुनै टेस्ट राष्ट्रको महिला टोलीसँग घरेलु मैदानमा खेल्ने पहिलो अवसर हुनेछ ।

ग्लोबल छनोट दुई समूहमा सञ्चालन हुनेछ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् भने समूह ‘बी’ मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाब्वे रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल जनवरी १८ (माघ ४) मा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपाल पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो ।

समूह चरणबाट दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट उत्कृष्ट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

Leave a Comment