साफ पुरुष फुटसल च्याम्पियनसिप : नेपाल आज श्रीलंकाविरुद्ध मैदानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २ माघ २०८२ ।
साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आजबाट आफ्नो अभियान सुरु गर्दैछ। नेपाली टोलीले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपाली समयअनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ।

सात राष्ट्र सहभागी प्रतियोगितामा नेपाल बाहेकका अधिकांश टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्। श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो, जसले आजको खेललाई अझ चासोपूर्ण बनाएको छ।

नेपाली पुरुष फुटसल टोली करिब २६ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दैछ। यसअघि नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलियामा आयोजित ‘एएफसी एसियन कप छनोट २०२४’ मा सहभागिता जनाएको थियो।

त्यसपछि नेपालले ‘एएफसी एसियन कप छनोट २०२६’ मा सहभागिता जनाएन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिनअघि नै नाम फिर्ता लिएको थियो।

नेपाली टोली

कप्तानको जिम्मेवारी विजयी श्रेष्ठले सम्हाल्नेछन्। टोलीमा पदम तामाङ र दीपेश श्रेष्ठ गोलकिपरका रूपमा रहेका छन्। साथै अमित लामा, अशोक दर्लामी, विक्रान्त नरसिंह राना, विशाल सरु मगर, जेनिश प्रजापति, लाक्पा तामाङ, पेम्बा दोर्जे लामा, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा र सुरज लगायतका खेलाडी समावेश छन्।

लामो अन्तरालपछि अन्तर्राष्ट्रिय मञ्चमा उत्रिएको नेपाली टोलीले प्रतियोगितामा सकारात्मक सुरुआत गर्ने लक्ष्य लिएको छ।

Leave a Comment