राष्ट्रिय लिगमा मनाङ र पुलिसको पहिलो सफलता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, माघ १३ — एन्फा राष्ट्रिय लिगमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले अन्ततः जितको खाता खोलेका छन्। लिगको चौथो खेलमा दुवै टोलीले महत्वपूर्ण तीन अंक जोड्दै तालिकामा सुधार गरेका हुन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मनाङले सुर्खेतको काँक्रेविहार युवा क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो। मनाङका विदेशी खेलाडी गिडेओन नाहले दुई गोल गरे भने सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक–एक गोल थपे। काँक्रेविहारका लागि सन्दीप देउवाले एकमात्र सान्त्वना गोल फर्काए।

मनाङले खेलको १६औँ मिनेटमा सुरेशको गोलबाट अग्रता लिएको थियो। तर पाँच मिनेटपछि सन्दीपले बराबरी गोल गरे। त्यसपछि २५औँ मिनेटमा अनिलले गोल गर्दै मनाङलाई पुनः अघि बढाए। दोस्रो हाफमा गिडेओनले ५४औँ र ८५औँ मिनेटमा गोल थपे भने ८०औँ मिनेटमा नवराजले पनि नाम लेखाएपछि खेल एकतर्फी बनेको थियो।

चार खेलपछि पहिलो जित निकालेको मनाङ अंक तालिकाको १३औँ स्थानमा उक्लिएको छ। उता काँक्रेविहार भने लगातार चौथो हारपछि अंकविहीन रहँदै पुछारमा झरेको छ।

यही दिन भएको अर्को खेलमा नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १–० ले हरायो। खेलको ३७औँ मिनेटमा श्री भगवतीका डिफेन्डर पेटर सेगुनबाट भएको आत्मघाती गोल नै पुलिसको जितको आधार बन्यो।

पुलिसले पनि चौथो खेलमा आएर पहिलो जित निकाल्दै आत्मविश्वास फर्काएको छ। यसअघि उसले एक खेल बराबरी र दुई खेलमा हार व्यहोरेको थियो।

लिगको सुरुवाती चरणमा संघर्ष गरिरहेका यी दुई परम्परागत क्लबका लागि यो जित मनोबल उकास्ने साबित भएको छ।

Leave a Comment