बारा — सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाका आरोपित नाबालकको भिडिओ खिचेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
प्रहरीका अनुसार हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राखिने अस्पतालको कक्षमै प्रहरी तथा अन्य व्यक्तिले उनको भिडिओ खिचेको खुलेपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कानुनअनुसार बालबालिकाको पहिचान खुल्ने गरी उनीहरूको फोटो तथा भिडिओ खिच्न वा सार्वजनिक गर्न पाइँदैन। तर आरोपित बालकले घटनाबारे जानकारी दिइरहेको भिडिओ खिचेर सार्वजनिक गरिएको पाइएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली बारा पुगेको छ। भिडिओमा नाम उल्लेख भएका अर्का व्यक्तिलाई समेत प्रहरीले सोमबार पक्राउ गरेको छ। उनी पनि नाबालक रहेको प्रहरीले जनाएको छ।
घटनामा अन्य सात जना पनि जोडिएको र उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको बलात्कारपछि हत्या घटनामा प्रहरीले हालसम्म नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। तीन दिनपछि सोही क्षेत्रको एक घरमा उनको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।

