महिला टी–२० ग्लोबल छनोट : नेपालले थाइल्यान्ड सामु १२३ रनको चुनौती प्रस्तुत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ माघ २०८२, आइतबार | काठमाडौं
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनायो। सुरुआती दबाबबीच नेपालले प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भयो।

नेपालका लागि बिन्दु रावलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४४ रन जोडिन्। मध्यक्रममा सम्झना खड्काले आक्रामक खेल प्रस्तुत गर्दै मात्र ११ बलमा २६ रन बनाइन्। कप्तान रुबिना क्षेत्रीले पनि दुई छक्का र एक चौकाको मद्दतमा १० बलमा १७ रन जोड्दै टोलीको स्कोर उकासिन्।

थाइल्यान्डका बलरहरू प्रभावशाली देखिए। थिपात्चा पुथावङवले किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट हात पारिन्। ओनिचा काम्चोम्फुले २ विकेट लिइन् भने सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले समान १–१ विकेट लिए।

अब थाइल्यान्डले प्रतियोगितामा पहिलो जितका लागि २० ओभरमा १२३ रनको लक्ष्य पछ्याउनु पर्नेछ। खेलको नतिजा नेपालका लागि महत्वपूर्ण रहनेछ, किनकि यो प्रतियोगिता विश्वकप प्रवेशको निर्णायक चरण मानिन्छ।

Leave a Comment