कांग्रेसको प्रधानमन्त्री उम्मेदवार ‘नयाँ युगको प्रतिनिधि’ : विश्वप्रकाश शर्मा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ माघ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारलाई “नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि” का रूपमा चित्रित गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस विगतका कमजोरीहरूबाट आत्मालोचना गर्दै सुधारको बाटोमा अघि बढेको दाबी गरे। उनका अनुसार पार्टीले आफ्नो सोच, कार्यशैली र नेतृत्व दृष्टिकोणमा परिवर्तन गर्दै नयाँ पुस्ता र नयाँ सन्दर्भलाई सम्बोधन गर्ने नेतृत्व अघि सारेको हो।

शर्माले अन्य दलका प्रधानमन्त्री उम्मेदवारहरू पुराना राजनीतिक सन्दर्भसँग जोडिएको संकेत गर्दै कांग्रेसको उम्मेदवार भने नयाँ समयको आवश्यकताअनुसार उभिएको बताए। “कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्छन्, तर कांग्रेसको उम्मेदवार माघ १ को सन्दर्भ बोकेको हो,” उनले भने, “सबै विषयलाई दस्तावेजमा उतारेर, आत्मसमीक्षा गरेर, गल्ती स्वीकार्दै आफूलाई बदल्दै अघि बढेको कांग्रेस अब नयाँ युगको प्रतिनिधित्व गर्ने नेतृत्वसहित मैदानमा छ।”

उनले अहिलेको नेपाली समाजको मुख्य आवश्यकता सद्भाव रहेको उल्लेख गरे। देशमा सुशासन, समुन्नति र सामाजिक एकता कायम गर्न कांग्रेसले प्राथमिकता दिने उनको भनाइ थियो।

“जित–हार राजनीतिक प्रक्रियाको हिस्सा हो, तर अहिले समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव हो,” उनले भने।

उपसभापति शर्माले कांग्रेस अब देश रूपान्तरणको लक्ष्यसहित आत्मालोचनामा आधारित राजनीतिक यात्रामा अघि बढिरहेको बताए।

Leave a Comment