काठमाडौँ, माघ १८ — राष्ट्रपति रामचन्द्र पौडेल आजदेखि जापानको औपचारिक भ्रमणमा जाँदैछन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल माघ २१ गतेसम्म जापानमा रहनेछन्। उनी आइतबार राति ११:३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ बाट टोकियोका लागि प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सको उडान नम्बर ४३४ बाट माघ २१ गते दिउँसो ४:३० बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका छन्।
वार्षिकोत्सव र उच्चस्तरीय भेटवार्ता मुख्य एजेन्डा
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्।
माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ।
यसका अतिरिक्त, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
व्यापारिक समुदाय र नेपाली दूतावास कार्यक्रम
भ्रमण अवधिमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनेछन्, जहाँ आर्थिक सहकार्य र लगानीका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै, टोकियोस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू समेत भ्रमण टोलीमा रहेका छन्।







