टाइगर कप भलिबलको ताज गण्डकीको पोल्टामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कास्की, माघ १८ — छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ। पोखरा रङ्गशालास्थित कोर्टमा भएको रोमाञ्चक फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै गण्डकी च्याम्पियन बनेको हो।

पहिलो सेट २५–२३ ले गुमाएर दबाबमा परेको गण्डकीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो। दोस्रो सेट २८–२६ को कडा प्रतिस्पर्धापछि जित्दै खेल बराबरीमा ल्याएको गण्डकीले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्यो।

पुरस्कार राशिमा पनि गण्डकी अगाडि

उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार हात पार्‍यो। उपविजेता नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्‍यो भने तेस्रो स्थान हासिल गरेको पर्वत जिल्ला भलिबल सङ्घले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो।

तेस्रो स्थानका लागि भएको खेलमा पर्वतले त्रिभुवन आर्मी क्लबलाई सोझो सेट (३–०) ले पराजित गरेको थियो।

मुस्ताफा खान ‘सर्वोत्कृष्ट खेलाडी’

गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २६ हजार ६६६ रुपैयाँ पुरस्कार पाए।

विधागत उत्कृष्ट खेलाडीहरू पनि घोषणा गरिए:

सर्भर – अद्नान खान

लिबेरो – भीमबहादुर गाहा

सेटर – बलराम गुरुङ

ब्लकर – फहद राज

स्पाइकर – फकर वाट्ट

प्रशिक्षक – रमेश केसी

उनीहरूले जनही ११ हजार १११ रुपैयाँ प्राप्त गरे।

महिलातर्फ न्यु डायमन्ड च्याम्पियन

महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लब ले जित्यो। नेपाल पुलिस क्लब उपविजेता रह्यो भने थाइल्यान्ड क्विन्स तेस्रो स्थानमा सीमित भयो।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताले राष्ट्रिय भलिबलमा उत्साह थपेको आयोजकले जनाएको छ।

Leave a Comment