कञ्चनजंघा आसपास केन्द्रबिन्दु, पूर्वी नेपालमा धक्का महसुस
२७ माघ २०८२, मंगलबार | काठमाडौं
ताप्लेजुङ जिल्लाको कञ्चनजंघा आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको हो।
भूकम्पको केन्द्र नेपाल–भारत सीमा नजिकै पर्ने क्षेत्र रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो।
हालसम्म भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण नआएको जनाइएको छ। सम्बन्धित निकायहरूले अवस्थाको निगरानी गरिरहेका छन्।

