बेलायतका विश्वविद्यालयमा नेपाली विद्यार्थीको गुनासो बढेपछि एनओसी रोक्न पहल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

लन्डन, २८ माघ २०८२ (बुधबार) — बेलायतका केही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्दै आएका प्रशासनिक र प्राविधिक समस्याप्रति चासो व्यक्त गर्दै लन्डनस्थित नेपाली दूतावासले शिक्षा मन्त्रालयलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी नगर्न ध्यानाकर्षण गराएको छ।

कोभेन्ट्री विश्वविद्यालयअन्तर्गत डेगेनहाम क्याम्पसमा अध्ययनरत एक नेपाली विद्यार्थीले दोस्रो वर्षको भर्नाका क्रममा प्राविधिक कारण देखाउँदै भोगेको सास्तीपछि दूतावासले औपचारिक पत्राचार गरेको हो। ती विद्यार्थीले तोकिएको समयसीमाभित्रै बाँकी शुल्क विभिन्न किस्तामा भुक्तानी गरे पनि एउटा कारोबारको रिसिट समयमै प्रणालीमा अद्यावधिक नहुँदा विश्वविद्यालयले ‘डेडलाइन’ नाघेको भन्दै नेपाल फर्किन निर्देशन दिएको थियो।

पछि विद्यार्थीले भुक्तानीको प्रमाण पेस गर्दै पुनर्विचारका लागि अनुरोध गरिन्। समस्या समाधान नभएपछि उनले दूतावास तथा अन्य नेपाली संघसंस्थामा सहयोग मागिन्। त्यसपछि दूतावासले विश्वविद्यालयलाई पत्र लेख्दै सामान्य प्राविधिक समस्यामा विद्यार्थीलाई स्वदेश फर्काउन नहुने चेतावनी दिएको थियो। दूतावासको हस्तक्षेपपछि सम्बन्धित विद्यार्थीले पुनः भर्ना पाएकी छन्।

कार्यवाहक राजदूत विपिन दुवाडीका अनुसार कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीबाट पनि यस्तै प्रकृतिका गुनासा पटक–पटक आएको छ। विश्वविद्यालयले समयमै शुल्क तिरेका विद्यार्थीलाई समेत अपिल गर्ने अधिकार नदिने, प्रत्यक्ष संवादको व्यवस्था कमजोर राख्ने र काउन्सिलिङ सुविधा नदिने जस्ता व्यवहार देखिएको भन्दै दूतावासले गम्भीर चासो जनाएको हो।

दूतावासले विशेष गरी कोभेन्ट्री विश्वविद्यालयका डेगेनहाम र ग्रीनवीच शाखामा अध्ययनका लागि एनओसी जारी नगर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ। विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा पर्ने अवस्था देखिए त्यहाँ अध्ययनका लागि जान बाध्य नपारिने दूतावासको धारणा छ।

शैक्षिक परामर्शविज्ञहरूका अनुसार बेलायतको विद्यार्थी भिसा प्रक्रिया सहज देखिए पनि आर्थिक तयारीबिना ऋण लिएर अध्ययन गर्न जाँदा जोखिम बढ्ने गर्दछ। विश्वविद्यालयले पनि शुल्क व्यवस्थापन र विद्यार्थीका गुनासा सम्बोधनमा संवेदनशील बन्नुपर्ने सुझाव दिइएको छ।

बेलायत नेपाली विद्यार्थी पठाउने प्रमुख गन्तव्यमध्ये एक बन्दै गएको छ। पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट एनओसी लिएका छन् भने सन् २०२५ मा मात्रै २० हजारभन्दा बढी विद्यार्थी बेलायत अध्ययनका लागि गएका छन्।

यसै सन्दर्भमा लन्डनस्थित नेपाली दूतावासले हालै बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या र समाधानका उपायबारे एकदिने सम्मेलनसमेत आयोजना गरेको जनाएको छ।

Leave a Comment