काठमाडौँ, २८ माघ २०८२,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सर्लाही भ्रमणका क्रममा अन्तिम समयमा रुट परिवर्तन गरेपछि हरिवन, नयाँरोड र बरहथवामा उनका समर्थकहरू निराश भएका छन्।
मधेस केन्द्रित चुनावी यात्रामा रहेका बालेन बुधबार सर्लाहीसहित पश्चिम मधेसका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुने तालिका थियो। उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान साढे ८ बजे लालबन्दी पुगेपछि नवलपुर, हरिवन, नयाँरोड र बरहथवा हुँदै रौतहट जाने कार्यक्रम तय गरिएको थियो।
तर निर्धारित तालिका विपरीत बालेन नवलपुरबाट सिधै सदरमुकाम मलंगवातर्फ लागे। रास्वपा सर्लाहीका सभापति सरोज बानियाँका अनुसार नवलपुरबाट हरिवनतर्फ अघि बढेको टोलीको जानकारी हुँदाहुँदै बालेन चढेको गाडी भने तीनघरे क्षेत्रबाट फर्किएर मलंगवा गएको थियो। “रुट परिवर्तनको जानकारी हामीलाई दिइएन,” उनले बताए।
यस फेरबदलका कारण हरिवन बजारस्थित महेन्द्र राजमार्ग आसपास बिहानैदेखि स्वागतका लागि भेला भएका नेता–कार्यकर्ता तथा सर्वसाधारण बालेनको प्रतीक्षामै बसे। नयाँरोड र बरहथवामा पनि समर्थकहरू उनको आगमनको आशामा रहे।
बालेनले लालबन्दीमा भने गाडीबाट टाउको निकालेर समर्थकहरूलाई अभिवादन गर्दै घण्टी बजाएका थिए। तर नवलपुरमा उनी सार्वजनिक रूपमा नदेखिएको स्थानीय नेताहरूले बताएका छन्।
सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाले कांग्रेसका पूर्वनेता डा. अमरेश सिंहलाई उम्मेदवार बनाएको छ। सोही क्षेत्रमा कांग्रेस सभापति गगनकुमार थापा पनि प्रतिस्पर्धामा छन्। स्रोतका अनुसार क्षेत्र नम्बर ४ केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिन बालेनको रुट परिवर्तन गरिएको हो।
नेता बानियाँका अनुसार मलंगवाबाट अमरेश सिंहको निर्वाचन क्षेत्रमा कार्यक्रम सकेर बालेन बरहथवा पुग्ने तयारीमा छन्। उनले चमेलीमाई मन्दिर दर्शनसहित क्षेत्रका केही स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
उता, अमरेश सिंहले पनि बालेनको कार्यक्रम तालिकामा केही संशोधन गरिएको पुष्टि गर्दै अब कौडेना हुँदै गोडैटा बजारबाट अघि बढ्ने योजना रहेको बताएका छन्।
अन्तिम समयमा भएको रुट परिवर्तनले स्थानीय तहमा समन्वय अभाव देखिएको टिप्पणीसमेत हुन थालेको छ।

