काठमाडौं, १२ असोज।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले आइतबार संयुक्त रूपमा ट्राफिक वाल्क आयोजना गरी चाडपर्वका समयमा सडक सुरक्षा र ट्राफिक नियम पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
रानीपोखरीबाट सुरु भएको र्याली उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेपछि औपचारिक कार्यक्रमका साथ सम्पन्न भयो। सहभागीहरूले जनचेतनामूलक प्लेकार्ड बोकेर यात्रु र चालकलाई नियम पालना गर्न सचेत गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले “सुरक्षित चाडपर्वका लागि सचेत चालक र जिम्मेवार यात्रु दुवै अपरिहार्य” रहेको उल्लेख गरे।
विशिष्ट अतिथि डा. ओममुर्ति अनिलले मादक पदार्थ सेवन, तीव्र गति र लागूपदार्थ प्रयोगले दुर्घटना र सामाजिक समस्या बढाउने भएकाले नियन्त्रणमा कडाइ आवश्यक रहेको धारणा राखे।
त्यसैगरी एसएसपी नवराज अधिकारीले अभाव र चुनौतीबीच पनि ट्राफिक प्रहरी जनसुरक्षाका लागि निरन्तर खटिरहेको जानकारी दिँदै चाडपर्वमा थप सतर्कता अपनाइने बताए।
बडादशैं, तिहार र छठलाई लक्षित गरी सडक सुरक्षा, दुर्घटना नियन्त्रण र जनचेतनामूलक अभियानलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ।

