२ फागुन २०८२,काठमाडौं । ट्वान्टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले बलियो टोली अस्ट्रेलियामाथि २३ रनको अप्रत्याशित जित निकाल्दै प्रतियोगितामा सनसनीपूर्ण नतिजा दर्ता गरेको छ । यो जिम्बावेको लगातार दोस्रो जित हो भने अस्ट्रेलियाको पहिलो हार हो ।
कोलम्बोमा भएको समूह ‘बी’ को खेलमा १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा १४६ रनमै अलआउट भयो । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ३१ रन र म्याट रेन्सोले ६५ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् । जिम्बावेका ब्लेसिङ मुजरबानीले ४ तथा ब्राड इभान्सले ३ विकेट लिएर अस्ट्रेलियाको इनिङ्स धराशायी बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २ विकेट गुमाएर १६९ रनको बलियो स्कोर खडा गरेको थियो । ओपनर ब्रायन बेनेटले ५६ बलमा ६४ रन बनाउँदै इनिङ्स सम्हाले । टाडिवानासे मारुमनी र रायन बर्लले समान ३५ रन जोडे भने सिकन्दर राजाले अविजित २५ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले १/१ विकेट लिए ।
यूएई र अमेरिका पनि विजयी
शुक्रबार नै भएको अर्को खेलमा यूएईले क्यानाडालाई ५ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ । १५१ रनको लक्ष्य यूएईले २ बल बाँकी रहँदा पूरा गर्यो । आर्यन शर्माले ७४ र सोएब खानले ५१ रनको योगदान दिए । यूएईका जुनिद सिद्दिकीले ५ विकेट लिए ।
त्यसैगरी चेन्नईमा भएको समूह ‘ए’ को खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले पराजित गर्यो । १९७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा १०३ रनमै समेटियो । अमेरिकाका हरमित सिंहले ४ विकेट लिए । यसअघि अमेरिकाले ६ विकेटमा १९६ रन बनाएको थियो, जसमा साइटेजा रेड्डी मुक्कामल्लाले ७९ रन बनाए ।
समूह स्थिति र आजका खेल
समूह ‘ए’ मा भारत र पाकिस्तान शीर्ष स्थानमा छन् भने न्युजिल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा अग्रस्थानमा छन् ।
प्रतियोगिताअन्तर्गत आज ओमान–आयरल्याण्ड (कोलम्बो), इङ्ल्यान्ड–स्कटल्याण्ड (इडन गार्डेन) तथा न्युजिल्यान्ड–दक्षिण अफ्रिका (अहमदाबाद)बीच प्रतिस्पर्धा हुनेछ ।

