काठमाडौं, २ फागुन २०८२ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ले दस्तावेज वाचन गर्दै सार्वजनिक गरेका हुन्।
राप्रपाले घोषणापत्रलाई ‘संकल्पपत्र’ नाम दिएको छ। उक्त दस्तावेजमा नेपालको दीर्घकालीन लक्ष्यका रूपमा “सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वीपथ” अवधारणा अघि सारिएको छ।
घोषणापत्रमा शासकीय स्वरूपबारे पार्टीको धारणा प्रष्ट पार्दै अभिभावकीय संस्थाका रूपमा राजसंस्था आवश्यक रहेको उल्लेख गरिएको छ। त्यस्तै, वर्तमान संघीय संरचनाको पुनरावलोकन गर्दै प्रदेश तह खारेज गरी केन्द्र र शक्तिशाली स्थानीय तहसहित दुई तहको शासन व्यवस्था प्रस्ताव गरिएको छ। स्थानीय तहलाई गैरदलीय बनाउने अवधारणा पनि संकल्पपत्रमा समेटिएको छ।
जलस्रोतको सदुपयोग, पर्यटन प्रवर्द्धन, आधुनिक कृषि, सूचना–प्रविधि विकास र सुशासन प्रवर्द्धनलाई राप्रपाले प्रमुख नीतिगत प्राथमिकताका रूपमा राखेको जनाएको छ। पार्टीले यी कार्यक्रममार्फत आर्थिक समृद्धि र राष्ट्रिय पहिचान सुदृढीकरण गर्ने लक्ष्य लिएको दाबी गरेको छ।

