बारा, फागुन ३ — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाराका १६ वटै स्थानीय तहमा आजदेखि मतदाता शिक्षा अभियान सुरु गरिएको छ। को निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार सञ्चालन हुने यो अभियान फागुन १७ गतेसम्म घरदैलोमार्फत जारी रहनेछ।
जिल्लाका सबै वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मताधिकारको महत्व, मतदान प्रक्रिया तथा सही तरिकाले मत हाल्ने विधिबारे जानकारी गराउने कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।
स्वयंसेवकहरूले नमुना मतपत्र प्रयोग गरी मतदान गर्ने तरिका, मत बदर हुन नदिने उपाय र निर्वाचन प्रक्रियाबारे नागरिकलाई प्रत्यक्ष सिकाउनेछन्। प्रभावकारी मतदाता शिक्षाले मतदानमा सहभागिता बढ्ने र बदर मत घट्ने विश्वास आयोगले लिएको छ।
अभियान सफल बनाउन स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चार क्षेत्रसँग समन्वय गरेर कार्यक्रम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।






