पूर्वाधारमै केन्द्रित कांग्रेस प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बसदेखि काठमाडौं–पोखरा रेलसम्म योजना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, फागुन ७ — प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा दिगो भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। राजधानीमा विद्युतीय सार्वजनिक यातायात सञ्चालनदेखि काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने विद्युतीय रेलसम्मका योजना दस्तावेजमा समेटिएका छन्।

कांग्रेस सभापति गगन थापाले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गर्दै पूर्वाधार, अर्थतन्त्र र सुरक्षित भविष्यलाई जोड्ने विकास रणनीति अघि सारे। करिब दुई सय पृष्ठको दस्तावेजमा “दिगो पूर्वाधार, सबल अर्थतन्त्र, सुरक्षित भविष्य, विकसित नेपाल” नारासहित दीर्घकालीन संरचना निर्माणलाई लक्ष्य बनाइएको छ।

प्रतिज्ञापत्रमा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र आयोजना छनोट गर्ने, स्रोत सुनिश्चित नभएका तथा अध्ययनविहीन टुक्रे योजना नलैजाने प्रतिबद्धता जनाइएको छ। खानेपानी, ढल, विद्युत्, दूरसञ्चार र इन्टरनेट सेवाका लागि ‘युटिलिटी करिडोर’ अवधारणा लागू गर्ने तथा ठूला आयोजनामा तीन सिफ्टमा काम गर्ने प्रणाली विस्तार गर्ने उल्लेख गरिएको छ।

यातायाततर्फ राजधानी जोड्ने सबै प्रमुख राजमार्ग वर्षभरि सञ्चालनयोग्य बनाउने, काठमाडौं–हेटौँडा सडक एक वर्षभित्र स्तरोन्नति गर्ने र सबै प्रदेश राजधानी जोड्ने सडक सञ्जाल सुधार गर्ने योजना कांग्रेसले अघि सारेको छ। काठमाडौं उपत्यकामा सञ्चालन हुने नयाँ सार्वजनिक सवारीलाई क्रमशः विद्युतीय बनाउने तथा स्मार्ट टिकट र भाडा साझेदारी प्रणाली लागू गर्ने लक्ष्य पनि प्रतिज्ञापत्रमा राखिएको छ।

रेल पूर्वाधारमा काठमाडौंसँग अन्तरदेशीय तथा पूर्व–पश्चिम रेल सञ्जाल जोड्ने दीर्घकालीन योजना अघि बढाइने जनाइएको छ। काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भाव्यता अध्ययन गरिने प्रतिवद्धता समेत उल्लेख छ।

सहरी विकासतर्फ प्रदेश राजधानीसँगै केही प्रमुख शहरलाई सुविधासम्पन्न आधुनिक शहरका रूपमा विकास गर्ने योजना पनि कांग्रेसले अघि सारेको छ। यस सूचीमा विर्तामोड, इटहरी, धरान, वीरगञ्ज, भैरहवा, बुटवल, घोराही, कोहलपुर र कञ्चनपुरलाई समेटिएको छ।

Leave a Comment