संविधानसभा सदस्य रामअयोध्या यादवको निधन, ७२ वर्षको उमेरमा वीरगन्जमा अन्तिम सास

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

१८ असार,बारा: संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका वरिष्ठ नेता रामअयोध्या यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।
बाराको सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको उपचारका क्रममा वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर अस्पतालमा बुधबार बिहान निधन भएको हो। उहाँका छोरा डा. जितेन्द्र यादवका अनुसार मधुमेह (डायबेटिज) रोगबाट लामो समयदेखि पीडित यादवको स्वास्थ्य अवस्था पछिल्लो समय गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको थियो।

नेता यादव २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उहाँको राजनीतिक यात्रा कांग्रेसको तल्लो तहबाट सुरु भएको थियो र पार्टीको जिल्ला सचिवदेखि लिएर महासमिति सदस्यसम्मको जिम्मेवारी सफलतापूर्वक वहन गर्नुभएको थियो। उहाँ एक अनुशासित, इमान्दार र जनप्रिय नेता मानिन्थे।

जनस्तरमा लोकप्रिय नेता रहेका यादव समाजसेवामा समेत सक्रिय थिए। उनले बारा क्षेत्रका विभिन्न विकास आयोजना तथा सामाजिक मुद्दामा आवाज उठाउँदै आएका थिए। कांग्रेस भित्र उहाँको योगदानलाई सम्मानपूर्वक स्मरण गरिन्छ।

उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन्। परिवारका अनुसार यादवको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गाउँमा राखिएको छ। दाहसंस्कार आज दिउँसो १ बजे उहाँको स्थायी निवास कवहीजगातमै गरिनेछ।

नेता यादवको निधनले नेपाली कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको नेपाली कांग्रेस बारा जिल्ला अध्यक्ष राजेश राय यादवले जानकारी गराएका छन । उहाँ एक अनुशासित, इमान्दार र जनप्रिय नेता हुनुहुन्धो , उहाको निधनले नेपाली काग्रेसमा अपूर्णिय छती भएकोमा जिल्ला अध्यक्ष राजेश राय यादवले गहिरो दुख ब्यक्त गरेका छन ।
विभिन्न राजनीतिक दल, सामाजिक संस्था तथा स्थानीय निकायले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

Leave a comment