एमाले महाधिवेशनको मतदान भोलि बिहान ८ बजेदेखि हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मङ्गलबार, १ पुस २०८२ | काठमाडौँ

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान पुनः सरेको छ। अब मतदान भोलि बुधबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

यसअघि आज बेलुका मतदान गरिने तयारी भए पनि अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि मतदान स्थगित गरिएको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिहरूलाई जानकारी दिएका छन्।

मतदान आज बिहानदेखि सुरु गर्ने भनिए पनि पटक–पटक समय सारिँदै आएको थियो। साँझ मतदाताहरू लाइनमा बसेकै बेला प्राविधिक समस्या र चिसोका कारण मतदान रोकिएको हो।

महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिने छ। एमालेका कुल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। प्राविधिक टोलीका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न निश्चित समय लाग्ने भएकाले व्यवस्थापनमा समय लागेको बताइएको छ।

नेतृत्व चयनका लागि हुने मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुने र प्रक्रिया सुचारु रूपमा अघि बढाइने पार्टीले जनाएको छ।

Leave a Comment