काठमाडौं, ११ फागुन २०८२ – उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाले किम जोङ उनलाई सर्वसम्मत रुपमा पुन: महासचिव चयन गरेको छ।
सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार आइतबार सम्पन्न पार्टी महासभाबाट किम जोङ उनलाई शीर्ष नेतृत्वमा कायम राखिएको हो।
बीबीसीका अनुसार, महासभा संगै कार्यकारी समितिमा व्यापक फेरबदल गरिएको छ। सन् २०२१ को बैठकको तुलनामा ३९ सदस्यीय समितिका आधाभन्दा बढी सदस्य परिवर्तन भएका छन्।
किम जोङ उनले सन् २०११ मा पिता किम जोङ इलको निधनपछि सत्ता सम्हालेका थिए। उनी आफ्नो नेतृत्वमा आणविक हतियार कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएका छन्, जसले प्योङयाङलाई विशेषगरी अमेरिका र पश्चिमा मुलुकका लागि चुनौतीपूर्ण बनाएको विश्लेषकहरूको मत छ।
केसीएनएका अनुसार, किमको नेतृत्वमा देशको युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुदृढ भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षण जारी राखेको छ।
पार्टी महासभा फेब्रुअरी १९ देखि सुरु भएको थियो र करिब ५ हजार पार्टी सदस्य सहभागी छन्। यस बैठकले विदेश नीति, अर्थतन्त्र र आणविक महत्वाकांक्षाबारे संकेत दिने विश्लेषकहरूको भनाइ छ।
किमले महासभा उद्घाटनमा देशको अर्थतन्त्र र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन्, जसलाई उनले ‘गम्भीर र तत्कालीन ऐतिहासिक कार्यभार’को रूपमा व्याख्या गरेका छन्।

