देशभर मौसम बदली भएसँगै आज सातै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण अधिकांश क्षेत्रमा बदली र वर्षाको अवस्था बनेको हो।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली देखिएको छ। केही तराई क्षेत्रमा आंशिक बदली रहेको मौसमविद्ले बताएका छन्।
कोशी, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोपछि वर्षाको गतिविधि अझ बढ्ने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्नेछ। मधेससहित विभिन्न तराई जिल्लामा मेघगर्जनसँगै हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
तराई क्षेत्रमा चल्ने तीव्र हावाहुरीले दैनिक जनजीवन, विद्युत सेवा र सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। किसानलाई खेतबारीमा लगाइएको बाली तथा खुला ठाउँमा राखिएका सामग्री सुरक्षित राख्न सुझाव दिइएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षाको सम्भावना कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च हिमाली क्षेत्रमा समेत फाट्टफुट्ट वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसममा आएको परिवर्तनसँगै केही क्षेत्रमा तापक्रम घट्ने भए पनि तराई भूभागमा वर्षाअघि गर्मी र हुरीको प्रभाव देखिन सक्ने मौसमविद्ले बताएका छन्।
चट्याङ, वर्षा र हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा अत्यावश्यक बाहेक खुला स्थानमा लामो समय नबस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
आज सातै प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना
Leave a Comment
Leave a Comment






