प्रधानमन्त्री वालेन्द्र शाहले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको बताएका छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने दिशामा सरकार अघि बढिरहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै राज्यका सबै निकायमा समानुपातिक र समावेशी सहभागिताको व्यवस्था गरिएको बताएका छन्।
उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथा अझै समाजमा विद्यमान रहेकाले यस्ता विकृति अन्त्य गर्न कानुनी व्यवस्थासँगै सामाजिक चेतना आवश्यक रहेको धारणा राखेका छन्।
त्यस्तै लैङ्गिक, घरेलु तथा डिजिटल हिंसा न्यूनीकरणका लागि राज्य, समुदाय र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन्।
यसै अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादीले पनि महिला अधिकारको संरक्षण र सामाजिक रूपान्तरणका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताएकी छन्।
उनले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेसम्म वास्तविक समानता सम्भव नहुने उल्लेख गर्दै महिला अधिकारलाई नीतिगत घोषणाभन्दा व्यवहारिक अभ्याससँग जोड्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित मनाइँदै छ।
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ
Leave a Comment
Leave a Comment






