निर्वाचन शान्तिपूर्ण बनाउन सरकार पूर्ण तयारीमा: प्रधानमन्त्री सुशीला कार्की

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकार पूर्ण तयारीका साथ अघि बढेको बताएकी छन्।

मंगलबार बालुवाटारमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी तथा समग्र सुरक्षा अवस्थाबारे भएको उच्चस्तरीय छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षामा कुनै कमजोरी नरहने स्पष्ट पारिन्।

उनले नागरिकलाई ढुक्क र निर्भय भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै भनिन्, “निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी राख्दैन।”

प्रधानमन्त्री कार्कीका अनुसार सम्भावित जोखिम र चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। आवश्यक समन्वय, कडा निगरानी र प्रभावकारी परिचालनमार्फत निर्वाचन वातावरण सुरक्षित बनाइने उनले बताइन्।

साथै उनले सुरक्षा व्यवस्थाप्रति शंका नगर्न सर्वसाधारणलाई आग्रह गर्दै सरकार निर्वाचन सफलताका लागि पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गरिन्।

Leave a Comment