१२ जेठ,बारा : कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था गर्न कानुन मन्त्रालय अगाडी बढेको बताएका छ्न ।
बाराको महागढीमाई नगरपालिकामा आज आयोजना गरिएको ‘न्यायीक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौरसियाले अग्रिम जमानतको व्यवस्था गर्न कानून मन्त्रालय लागि परेको र चाडै नै यो व्यवस्था लागु हुने जानकारी दिए ।
स्थानीय तहमा न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको न्यायिक सम्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको उनले बताए ।
अहिले पनि गाउँका जनताहरु न्यायको पहुँच भन्दा बाहिर रहेकाे बताउँदै मन्त्री चौरसियाले भने,‘सरकारले परिकल्पना गरे अनुरुप न्यायको पहुँच सबैसम्म पुर्याउन स्थानीय तहको भूमिका अतुलनीय रहेको छ ।’
समुचित तालिम, स्पष्ट प्रक्रिया र व्यवहारिक ज्ञान बिना न्यायीक समितिले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो । उनले भने, ‘ न्यायीक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रमले प्रतिनिधिहरूको क्षमतामा गुणात्मक सुधार ल्याउनेछ । जसले दुर दराजका आम जनतालाई सेवा पाउन सजिलो हुनेछ । न्याय सम्पादन सरल र सहज बनाउनकै लागि कानुन मन्त्रालयले निशुल्क रुपमा प्रत्येक जिल्लामा फ्री मा मुद्दा लड्ने वकिलको ब्यवस्थापन गरेको छ । सबै पालिकाको गेटमा निशुल्क रुपमा मुद्दा लड्ने वकिलको फोटो र नम्बर राख्ने व्यवस्था अगाडि बढाइएको छ ।’ उनले भने ।
जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले उपस्थितहरुलाई न्यायीक समितिकाबारे प्रशिक्षण दिएका थिए । आचार्यले न्याय सम्पादन गर्दा स्वच्छता, निश्पक्षताको महत्व बारे उजागर गर्दै न्यायिक समितिका पदाधिकारीहरुले अवलम्बन गर्नु पर्ने सिद्धान्त तथा व्यवहारीकतालाई समेत मध्येनजर गरी न्याय सम्पादन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा बाराका करिब ८० जना न्यायीक समितिका संयोजक, सदस्य र कर्मचारीहरूको सहभागीता रहेको थियो । १ दिने तालिममा न्यायीक प्रक्रियाको आधारभूत अवधारणा, स्थानिय तहमा समाधान गर्नुपर्ने विवादका प्रकृति, मध्यस्थता तथा मेलमिलाप प्रक्रिया, कानूनी लेखाजोखा तथा फैसला लेखन सम्बन्धी विषयमा विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।
मन्त्रालयको सह सचिव उर्मिला जिसिको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श कोत्वाल गाउपालिकाको अध्यक्ष जवाहर साह,काङ्ग्रेस बारा सचिव भैयाराम यादव,सह सचिव प्रमोद यादव,महागढिमाई नगरपालिकाको उप प्रमुख तारा देबि कानु,जितपुर सिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारी,कोल्बी नगरपालिकाका उपमेयर लक्ष्मी कुमारी चौधरी, निजगढ नगरपालिकाका उपमेयर सोममाया थिङ्ग,पचरौता नगरपालिकाका उपमेयर नसिमा खातुनसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शाखा अधिकृत भावना बर्णवालले सन्चालन गरेको कार्यक्रममा स्वागत महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले गरेका थिए ।


