१३ फागुन २०८२, बक्सर (बिहार) — विवाह समारोह चलिरहेकै बेला दुलहीमाथि गोली प्रहार भएको घटना भारतको बिहार राज्यको बक्सर जिल्लामा भएको छ।
चौसा नगर पञ्चायतमा भइरहेको विवाह समारोहमा जन्ती उत्तर प्रदेशको बलियाबाट आएको थियो। दुलहा–दुलही मञ्चमा उभिएर माला लगाइसकेपछि आरती गर्ने क्रममा अचानक गोलीको आवाज आएको र दुलही मञ्चमै ढलेकी थिइन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गोली प्रहार गर्ने युवक दुलहीका चिनजानका तथा उनका पूर्वप्रेमी रहेको खुलेको छ। क्रोधको आवेगमा उनले मञ्च नजिक पुगेर अगाडिबाटै पेस्तोल प्रहार गरेको बताइएको छ।
घाइते १८ वर्षीया आरती कुमारीलाई परिवार र स्थानीयको सहयोगमा तुरुन्तै सदर अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले उनलाई थप उपचारका लागि वाराणसी रेफर गरिएको छ।
गोली चलेपछि समारोहमा भगदड मच्चिएको थियो। घटनापछि आरोपी युवक फरार भएका छन् भने प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको जनाएको छ।

