१४ फागुन,बारा — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभर मदिरा तथा अन्य मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा निषेधाज्ञा जारी गरेको छ। साथै भारतीय सीमासँग जोडिएका सबै नाका पनि निश्चित अवधिसम्म बन्द गरिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म बारा जिल्लाभर मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
त्यस्तै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बुधबार राति १२ बजेसम्म बाराका भारतीय सीमासँग जोडिएका सम्पूर्ण सीमा नाका पूर्ण रूपमा बन्द गरिने सूचनामा उल्लेख छ।
प्रशासनका अनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारी सञ्चालनमा पनि रोक लगाइएको छ। एम्बुलेन्स, दूध तथा औषधि बोकेका सवारी, खानेपानी तथा ढल मर्मत, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारीलाई भने अनुमति दिइनेछ।
जिल्ला प्रशासन कार्यालय बाराले निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सबै सरोकारवालालाई आदेश पालना गर्न आग्रह गरेको छ।

